काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले एक खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।
कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दिलीप नाथले अविजित २८ तथा निरोशन डिकवेलाले १६ रनको योगदान दिए ।
एक समय १९ रनमै ३ विकेट गुमाएको लुम्बिनीका लागि सर्ट र डिकवेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । डिकवेला आउट भएपछि सर्टले दिलीप नाथसँग मिलेर इनिङ्स अघि बढाए । सर्ट ४६ रनमा आउट भए पनि दिलीपले टोलीलाई जितसम्म पुर्याए ।
बलिङमा कर्णालीका मार्क वाटले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १२ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । पवन सर्राफ र हुसेन तलतले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९ ओभर २ बलमा १०५ रनमा अलआउट भएको थियो ।
कर्णालीका सोमपाल कामीले १८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए । हुसेन तलतले २४, पवन सर्राफले १२ र गुल्सन झाले १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णालीले १५ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । त्यसपछि पवन सर्राफ र सोमपाल कामीले ४० रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गरे पनि नियमित विकेट गुमाउँदा कर्णाली ठूलो योगफल बनाउन असफल भयो ।
लुम्बिनीका लागि अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहितकुमार पौडेलले समान २ विकेट लिए । रुबेन ट्रम्पलम्यान र शेर मल्लले १–१ विकेट हात पारे ।
यो जितसँगै ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लुम्बिनीले लिग चरणको अन्तिम खेल विराटनगर किङ्ससँग खेल्नेछ ।
यता लगातार चौथो हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ । ६ खेलबाट ४ अंक जोडेको कर्णाली सातौँ स्थानमा छ । कर्णालीले आफ्नो अन्तिम खेल चितवन राइनोजसँग खेल्नेछ ।
यसअघि बिहीबार नै भएको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको थियो ।