काठमाडौं । जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । लगातार प्रतिस्पर्धात्मक प्रदर्शन गरिरहेको सुदूरपश्चिमले जितसँगै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ भने जनकपुरको यात्रा कठिन बनेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १९.५ ओभरमा ९३ रनमै समेटियो । सुरुआतदेखि नै दबाबमा परेको जनकपुरले ब्याटिङमा अपेक्षित प्रदर्शन गर्न सकेन ।
जनकपुरको ब्याटिङ ध्वस्त पार्ने क्रममा स्कट कुगेलेइनले सर्वाधिक तीन विकेट लिए । चार ओभरमा १३ रन खर्चिएका उनले पावर प्लेमा अनिल कुमार साह र ह्यारी टेक्टरलाई आउट गर्दै जनकपुरलाई सुरुमै संकटमा पारे । उनले १८.२ ओभरमा जिम्मी निशमलाई पनि पभेलियन फर्काए ।
जनकपुरका लागि तृतराज दासले सर्वाधिक २१ रन बनाए । जिम्मी निशमले २०, राहुल यादवले ११ तथा आदित्य मेहताले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कुगेलेइनबाहेक हेमन्त धामी, थरिन्दु रत्नायके, दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १२० रन बनाएको थियो । टोलीका लागि ब्रान्डन म्याकमुलेनले सर्वाधिक ३३ रन बनाए भने थरिन्दु रत्नायके २७ रनमा अविजित रहे । आरिफ शेखले ११ तथा सैफ जैब र विनोद भण्डारीले समान १० रनको योगदान दिए ।
जनकपुरका कप्तान हर्मित सिंहले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए । उनले चार ओभरमा १७ रन मात्र खर्चिए । ह्यारी टेक्टर, राहुल यादव, आदित्य मेहता र अभिषेक तिवारीले समान एक विकेट हात पारे ।
जितसँगै सुदूरपश्चिमले ६ खेलबाट चार जित र दुई हारसहित आठ अंक जोडेको छ । समान अंक भए पनि रनरेटका आधारमा काठमाण्डू अघि रहँदा सुदूरपश्चिम दोस्रो स्थानमा छ ।
उता, समान ६ खेल खेलेको जनकपुर चार अंकमै सीमित भएको छ । प्लेअफको सम्भावना जीवित राख्न टोलीले अबका खेलमा जित निकाल्नुपर्ने दबाब बढेको छ । विशेषगरी आगामी शुक्रबार चितवनविरुद्ध हुने खेल जनकपुरका लागि निर्णायक बन्ने देखिएको छ ।