काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा पराजित भएको पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनले हराउँदै प्रतियोगितामा अंकको खाता खोलेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको २१८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमै समेटियो ।
कर्णालीका लागि पवन सर्राफले सर्वाधिक ३२ रन बनाए । उनले ३१ बलमा २ छक्का र १ चौका प्रहार गरे । त्यस्तै आरिफुल इस्लामले २४ तथा दीपक डुम्रेले २२ रनको योगदान दिए ।
कर्णालीको ब्याटिङ धराशायी बनाउने क्रममा पोखराका मेहेदी हसनले सर्वाधिक ३ विकेट लिए । धनञ्जय लक्सन, कुशल भुर्तेल र विपिन खत्रीले समान २ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रनको विशाल योगफल तयार पारेको थियो ।
पोखराका युवराज सम्राले उत्कृष्ट शतकीय इनिङ्स खेले । उनले ४८ बलमा ६ छक्का र १० चौकाको मद्दतमा १०२ रन बनाए । कुशल भुर्तेलले ३९ बलमा ७ छक्कासहित ६२ रन जोड्दा कप्तान चमिका करुणारत्नेले ११ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा अविजित ३५ रन बनाए ।
कर्णालीका कप्तान सोमपाल कामीले २ तथा मार्क वाटले १ विकेट लिए ।
यस जितसँगै पाँच खेल खेलेको पोखराले पहिलोपटक अंक जोडेको छ । उता, पाँच खेलबाट ४ अंक जोडेको कर्णाली सातौँ स्थानमा झरेको छ । लगातारको हारपछि लयमा फर्किएको पोखराले प्लेअफ सम्भावना कायम राख्दा कर्णालीलाई भने शीर्ष चारमा पुग्न थप चुनौती देखिएको छ ।