काठमाडौं । नेपाली सेनामा २२ वर्ष सेवा गरेर प्राज्ञिक क्षेत्रमा प्रवेश गरेका माधव थापाका निर्वाचन रणनीति र नेपालमा चीन–भारतको भू–राजनीतिक प्रतिस्पर्धासम्बन्धी दुई पुस्तक सार्वजनिक भएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित अल्कोभ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा थापाका How to Win Election? An Election Strategy Making Process र Changing Dynamism of Sino-Indian Geopolitical Rivalry in Nepal सार्वजनिक गरिएका हुन् ।
थापाको पहिलो पुस्तक How to Win Election? An Election Strategy Making Process निर्वाचनमा सफलता हासिल गर्न उम्मेदवार र राजनीतिक दलले कस्तो रणनीति बनाउने भन्ने विषयमा केन्द्रित छ । यसमा निर्वाचन रणनीति निर्माणका नौ चरण प्रस्तुत गरिएका छन् ।
नेपाली सेनामा रहँदा प्राप्त योजना निर्माण र निर्णय प्रक्रियासम्बन्धी २२ वर्षको अनुभवलाई आधार बनाइएको यस पुस्तकले सैन्य निर्णय प्रक्रियाबाट प्रेरित ढाँचामार्फत निर्वाचन रणनीति तयार गर्ने तरिका व्याख्या गरेको छ । निर्वाचन अभियान सञ्चालन, चुनावी गतिविधिको अनुगमन र बदलिँदो राजनीतिक परिस्थितिअनुसार रणनीति परिमार्जन गर्ने विषय पनि पुस्तकमा समेटिएका छन् ।
त्यस्तै, दोस्रो पुस्तक Changing Dynamism of Sino-Indian Geopolitical Rivalry in Nepal नेपालमा चीन र भारतबीचको भू–राजनीतिक प्रतिस्पर्धामा केन्द्रित छ । पुस्तकले दुई छिमेकी मुलुकको प्रतिस्पर्धालाई सम्पर्क सञ्जाल, सुरक्षा, संस्कृति र ऊर्जा तथा जलस्रोत गरी चार प्रमुख पक्षबाट विश्लेषण गरेको छ ।
नेपालमा चीन र भारतका रणनीतिक चासो, जलस्रोतसम्बन्धी स्वार्थ, बुद्ध धर्मसँग जोडिएको सांस्कृतिक भू–राजनीति तथा नेपालले दुई मुलुकलाई जोड्ने ‘जीवन्त पुल’ का रूपमा खेल्न सक्ने भूमिकाबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।
सैन्य सेवापछि प्राज्ञिक क्षेत्रमा सक्रिय थापाले नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजबाट आर्मी कमान्ड एन्ड स्टाफ कोर्स पूरा गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट रणनीतिक अध्ययन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् २०२३ मा राजनीतिशास्त्रतर्फको एमफिल ब्याचमा प्रथम भएका थापा हाल विद्यावारिधिका शोधार्थी हुन् । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा राजनीतिशास्त्र अध्यापनसमेत गराउँदै आएका छन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा डा. रविन्द्र खनाल र परराष्ट्रमन्त्री भइसकेका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल बालानन्द शर्मा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा अवकाशप्राप्त ब्रिगेडियर जनरल रामचन्द्र खत्री, त्रिभुवन विश्वविद्यालयको द्वन्द्व, शान्ति तथा विकास अध्ययन विभागका प्रमुख डा. पिताम्बर भण्डारी र अवकाशप्राप्त मेजर जनरल डा. पूर्ण सिलवालले पुस्तकहरूमाथि टिप्पणी गरेका थिए ।