काठमाडौं । कप्तान रोहितकुमार पौडेलको शतकीय पारी र बलरहरूको कसिलो प्रदर्शनमा नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा क्यानडामाथि महत्वपूर्ण जित निकालेको छ ।
ओमानमा आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो । यो जितसँगै नेपालले अंकतालिकामा क्यानडालाई उछिन्दै छैटौँ स्थानमा स्थान बनाएको छ ।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४८.४ ओभरमा सबै विकेट गुमाएर २११ रन मात्रै बनाउन सक्यो ।
क्यानडाका आरोन जोनसनले ४४ र समित गोहेलले ३५ रन बनाए । अखिल कुमार ३० रनमा अविजित रहे भने श्रेयस मोभा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे । नेपालका करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा २३५ रन बनाएको थियो । नेपालको इनिङ्स सम्हाल्ने क्रममा कप्तान रोहितले १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए । गुलशन झाले ३४ बलमा ४८ रन जोड्दै नेपालको स्कोर उकासे । अर्जुन कुमालले २३ र बसिर अहमदले ३० रन बनाए ।
क्यानडाका अखिल कुमारले चार विकेट लिँदा सुखजिन्दर सिंहले तीन तथा जाहिर शिर्जादले दुई विकेट लिए ।
जितपछि ३३ खेलबाट २६ अंक जोडेको नेपाल लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा पुगेको छ । ३४ खेलमा २५ अंक रहेको क्यानडा सातौँ स्थानमा झरेको छ ।
लिग–२ को यस शृङ्खलाको खेलमा पराजित भएपछि क्यानडाको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भएको छ ।
नेपालले शृङ्खलाअन्तर्गत अब असोज २७ गते ओमान, असोज ३१ गते क्यानडा र कात्तिक २ गते पुनः ओमानसँग खेल्नेछ । बाँकी खेलको नतिजा नेपालको ओडीआई मान्यता जोगाउने अभियानका लागि महत्वपूर्ण हुनेछ ।