भक्तपुर । सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता २०८३ सुरु भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा सूर्यविनायक नगरपालिका–१०, चित्तपोलस्थित खेलमैदानमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका १० वटा टिमका करिब १८० खेलाडी सहभागी छन् । प्रतियोगिताको पहिलो खेल वडा नं. २ र वडा नं. ८ बीच भएको थियो ।
नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रम नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, विभिन्न वडाका वडाध्यक्ष, नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायत खेलकुदप्रेमीको उपस्थिति थियो । कार्यक्रममा शर्मिला बस्नेत लक्सालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ र तृतीय हुने टिमले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, चौथो हुने टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विजेता तथा उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।

नगर प्रमुख थापाले आफूहरू निर्वाचित भएर आएपछि भौतिक विकाससँगै मानवीय विकास, रोजगारी अभिवृद्धि र खेलकुद क्षेत्रलाई पनि प्राथमिकता दिएको बताए । नगरपालिकाले खेलकुदका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिँदै उनले फुटबल रंगशालाका लागि छुट्टै चार लाख रुपैयाँ विनियोजन गरिएको उल्लेख गरे ।
नगरपालिकाले प्रत्येक महिना यस्ता प्रतियोगिता आयोजना गर्ने कार्यक्रम अघि सारेको बताउँदै नगर प्रमुख थापाले प्रतियोगितामा खेलाडीबाट कुनै शुल्क नलिई खेल सञ्चालन गरिएको जानकारी दिए । उनले खेलाडीलाई हारजितभन्दा अनुशासन र खेलभावनालाई प्राथमिकता दिएर खेल्न आग्रह गरे ।

उपप्रमुख सरिता तिम्सिना भट्टराईले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताइन् । नेपालमा फुटबलप्रतिको आकर्षण बढ्दै गएको सन्दर्भमा आयोजना गरिएको प्रतियोगिताले स्थानीयस्तरमा खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नगरका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । यस्ता प्रतियोगिताले खेलाडीको क्षमता पहिचान र विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।
नगर प्रवक्ता एवं वडा नं. ७ का वडाध्यक्ष सापकोटाले खेलकुदलाई रचनात्मक रूपमा अघि बढाउने र स्थानीय खेल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । वडा नं. १० का वडाध्यक्ष शिवराम राउतले असोज २५ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताले स्थानीय फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।

स्थानीय खेलाडीको प्रतिभा पहिचान, खेलकुदको विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नगरको पहिचान स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
