काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण बुधबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । बाँकी हिमाली क्षेत्र, पहाडी भू-भाग तथा मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान छ । तराईका अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
यसैगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा समेत छिटपुट वर्षाको सम्भावना रहेको छ ।