काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्ससँग र कर्णाली याक्सले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछन् ।
दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन् । त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच बेलुका ५ बजे प्रतिस्पर्धा हुनेछ ।
अङ्क तालिकामा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ८ अङ्कसहित शीर्ष दुई स्थानमा छन् । चार जित र एक हार बेहोरेको काठमाडौं रनरेटका आधारमा पहिलो स्थानमा छ भने सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ ।
तीन जित, एक हार र एक खेलमा नतिजाविहीन रहेको लुम्बिनी लायन्स ७ अङ्कसहित तेस्रो स्थानमा छ । चितवन राइनोज ५ अङ्कसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स र विराटनगर किंग्स समान ४ अङ्कसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् ।
समान ४ अङ्क जोडेको कर्णाली याक्स सातौँ स्थानमा छ भने पाँच खेलमध्ये एक खेलमा मात्रै जित निकालेको पोखरा एभेन्जर्स पुछारमा रहेको छ ।
एनपीएलमा हिजो भाइटीकाका अवसरमा खेलहरू स्थगित गरिएको थियो । एक दिनको विश्रामपछि आजदेखि प्रतियोगिताका खेल पुनः सुरु हुँदैछन् ।