काठमाडौं । सामाजिक सुरक्षा कोषमा १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ सङ्कलन भएको छ । गएको असोज मसान्तसम्म विभिन्न क्षेत्रका ३२ लाख ४३ हजार ७०१ जना योगदानकर्ताबाट उक्त रकम सङ्कलन भएको हो ।
सामाजिक सुरक्षा कोषका अनुसार कुल योगदानकर्तामध्ये सबैभन्दा ठूलो हिस्सा वैदेशिक रोजगारी क्षेत्रको रहेको छ । वैदेशिक रोजगारीमा रहेका २४ लाख ५० हजार ९५८ जना कोषमा आबद्ध भएका छन् । यो कुल योगदानकर्ताको झन्डै ७५ प्रतिशत हो ।
त्यस्तै, औपचारिक क्षेत्रबाट ७ लाख ९० हजार ८३ जना, स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना र अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना कोषमा जोडिएका छन् ।
औपचारिक क्षेत्रअन्तर्गत देशभरका २३ हजार ८०७ रोजगारदाता संस्था सामाजिक सुरक्षा कोषमा आबद्ध रहेको कोषले जनाएको छ ।
कोषले योगदानकर्ताका लागि औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्ध अवस्था सुरक्षा गरी विभिन्न चार योजनामार्फत योगदान रकम परिचालन गर्दै आएको छ ।
कोषका अनुसार हालसम्म विभिन्न शीर्षकमा २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भइसकेको छ ।