युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न चन्द्र ढकालको आग्रह

युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न चन्द्र ढकालको आग्रह

बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न चन्द्र ढकालको आग्रह

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

    युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै नेपालमा लगानीका प्रशस्त अवसर रहेको बताएका हुन् ।

    भेटका क्रममा नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका अवसरबारे छलफल भएको थियो ।

    सो अवसरमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै युएईका लगानीकर्तालाई ती क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।

    नेपालमा पर्याप्त स्वच्छ ऊर्जा र चिसो हावापानी उपलब्ध भएकाले सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो । त्यस्तै, केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा पनि लगानीको ठूलो अवसर रहेको उनले बताएका थिए ।

    नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने युएईका विदेश व्यापारमन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गरेका थिए ।

    स्वर्ण जयन्तीलाई दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा पनि उनले जोड दिएका थिए ।

    त्यसैगरी, विदेशी लगानीकर्तालाई आकर्षित गर्न नीतिगत तथा नियमनकारी स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै ढकालले द्विपक्षीय लगानी सम्झौता (बीआईए) र दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने बताएका थिए ।

    ढकालले फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गर्न आग्रह गरेका थिए ।

    भैरहवामा सिधा उडान सुरु भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण प्रवेशद्वार बन्न सक्ने उनको भनाइ थियो ।

    सन् २०२७ मा मनाइने नेपाल–युएई कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीले दुई देशबीच साझा समृद्धि र बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वाससमेत ढकालले व्यक्त गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij