काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमै अलआउट भयो ।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, हुसेन तलतले २२ बलमा ४ चौका र १ छक्कासहित २४ रन जोडे । गुलशन झाले १३ तथा पवन सर्राफले १२ रन बनाए ।
कर्णालीको सुरुवात भने निकै खराब रह्यो । टोलीले १५ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । त्यसपछि पवन सर्राफ र सोमपाल कामीले ४० रनको साझेदारी गर्दै इनिङ्स सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
लुम्बिनीका लागि अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । त्यस्तै, रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट हात पारे ।
अब लुम्बिनीले जितका लागि १०६ रन बनाउनुपर्नेछ ।
यसअघि बिहीबार भएको पहिलो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको थियो ।