काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज पहिलो क्वालिफायरमा साबिक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।
लिग चरणमा शीर्ष दुई स्थान हासिल गरेका दुवै टोलीको लक्ष्य आजको खेल जित्दै सिधै फाइनलमा पुग्ने हुनेछ । लुम्बिनी पाँच जित, एक हार र एक खेल वर्षाका कारण रद्द हुँदा ११ अंकसहित शीर्ष स्थानमा रहेको थियो । यस्तै, सुदूरपश्चिम पाँच जित र दुई हारबाट १० अंक जोड्दै दोस्रो भएको थियो ।
लुम्बिनीले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारी बलियो बनाएको छ । टोलीका लागि डार्सी सर्टले ६ खेलमा १४८ रन बनाएका छन् भने शेर मल्लले ९ विकेट लिएका छन् । उता सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले १५० रन बनाउँदा अनिल खरेलले १० विकेट लिएका छन् ।
यी दुई टोलीबीच यसअघिका चार भेटमा दुवैले समान दुई खेल जितेका छन् । तर, पछिल्ला दुई भेटमा लुम्बिनीले लगातार जित निकालेको छ । प्रतियोगिताको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो ।
आजको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ । गत संस्करणको विजेता लुम्बिनी उपाधि जोगाउने लक्ष्यमा छ भने उपविजेता सुदूरपश्चिम यसपटक उपाधि जित्ने योजनामा मैदान उत्रनेछ ।