काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले शीर्ष दुईमा स्थान पक्का गरेको हो ।
विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए । उनीहरूले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए ।
त्यसपछि लगातार विकेट गुमाउँदै दबाबमा परेको लुम्बिनीलाई जितसम्म पुर्याउन अलि शेख र सन्दीप जोराले महत्त्वपूर्ण योगदान दिए । अलिले १९ बलमा २७ रन बनाए भने जोराले ११ बलमा ३ छक्का र १ चौकासहित अविजित २५ रन जोडे ।
अन्तिम दुई ओभरमा ३२ रन आवश्यक रहेको अवस्थामा जोराले १९औँ ओभरमा १७ रन जोडे । अन्तिम ओभरमा १६ रन चाहिएको बेला अलिले पहिलो बलमै छक्का प्रहार गरे । नो बल भएपछि थपिएको फ्रि हिटमा उनले २ रन लिए । अन्तिम दुई बलमा ५ रन आवश्यक हुँदा रुबेन ट्रम्पलम्यानले छक्का प्रहार गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए ।
विराटनगरका अपराजित पौडेलले २ तथा चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका लागि चरिथ असलंकाले सर्वाधिक ६४ रन बनाए । उनले ४३ बलमा ६ छक्का र १ चौका प्रहार गरे । शुभम रन्जानेले अविजित ३१ तथा इमरान शेखले २४ रन जोडे ।
लुम्बिनीका किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए ।
यस जितसँगै ७ खेलबाट ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा उक्लिएको छ । उसले क्वालिफायर खेल्ने पक्का गरेको छ । लुम्बिनीसँग पराजित भएपछि ६ अंकसहित पाँचौँ स्थानमा रहेको विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको छ ।
यससँगै एनपीएलको प्लेअफमा पुग्ने चारै टोलीको टुङ्गो लागेको छ । लुम्बिनी र सुदूरपश्चिम रोयल्ससँगै काठमान्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् ।
काठमान्डु ५ खेलबाट ८ अंकसहित तेस्रो र चितवन ६ खेलबाट ७ अंकसहित चौथो स्थानमा छन् । पोखरा एभेन्जर्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र विराटनगर भने लिग चरणबाटै बाहिरिएका छन् ।