भक्तपुर । सूर्यविनायक नगरपालिकामा आयोजित जिल्ला अन्तर क्लबस्तरीय सूर्यविनायक मेयर कप ब्याडमिन्टन प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । प्रतियोगितामा दुई स्वर्ण र दुई रजत पदक जित्दै कटुन्जे ब्याडमिन्टन क्लब समग्र टिम च्याम्पियन बनेको छ ।
सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं. ८ स्थित चन्द्र वैभव ब्याडमिन्टन क्लबमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ४८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताअन्तर्गत पुरुष एकल यू–१७ तर्फ कटुन्जे ब्याडमिन्टन क्लबका अच्युत ढुंगेल प्रथम र सोही क्लबका सुलभ थापालिया दोस्रो भए । यस विधामा पीबीसीका अपूर्व पोखरेल र एसवाईसीका सजिन खजु तेस्रो भए ।
पुरुष एकल खुलातर्फ डीसीबीका रेसोड सुवाल प्रथम, सोही क्लबका बिराज बोहोरा दोस्रो तथा डीसीबीकै अस्तमान चक्रधर र पीबीजीका कान्तिराम ढुंगाना तेस्रो भए ।
पुरुष युगलतर्फ कटुन्जे ब्याडमिन्टन क्लबका विशाल श्रेष्ठ र राजकुमार निरौलाको जोडी प्रथम भयो । डीसीबीका कुमार शाक्य र रोचक राईको जोडी दोस्रो तथा एसवाईसीका रवीन्द्र घेमोसु र राजेश खाइतु एवं सीवाईसीका जयराज खड्का र प्रज्ज्वल पाण्डेको जोडी तेस्रो भयो ।

भेटरान्सतर्फ चन्द्र वैभव ब्याडमिन्टन क्लबका दीपक बस्नेत र युवराज श्रेष्ठको जोडी प्रथम तथा कटुन्जे ब्याडमिन्टन क्लबका सबिन ढुंगेल र कृष्ण गोपाल सुवालको जोडी दोस्रो भयो ।
प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख वासुदेव थापाले विजेता, उपविजेता तथा तेस्रो हुने टिमलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्रदान गरे ।

प्रतियोगितामा दीपक बस्नेत उत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसहित आठ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, उदयमान खेलाडी घोषित अच्युत ढुंगेलले ट्रफीसहित पाँच हजार रुपैयाँ प्राप्त गरे ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष वचन देउजा, नगर प्रवक्ता रवीन्द्र सापकोटा, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापा, कार्यपालिका सदस्य शर्मिला लम्साल बस्नेत, नेपाल जिम्नास्टिक सङ्घका केन्द्रीय उपाध्यक्ष वचन देउजा तथा जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्र प्रजापतिलगायतको उपस्थिति रहेको थियो ।

सूर्यविनायक नगरपालिकामा नगर खेलकुद विकास समिति गठन भएपछि नगर क्षेत्रमा खेलकुद गतिविधि विस्तार हुँदै आएका छन् । नगरपालिकाले विकास निर्माणसँगै खेलकुदलाई पनि प्राथमिकता दिएर विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आएको नगर प्रमुख वासुदेव थापाले बताए । प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको उल्लेख गर्दै उनले खेलकुदको विकास र खेलाडीको प्रोत्साहनलाई निरन्तरता दिइने बताए ।
यसअघि फुटबल प्रतियोगिता आयोजना गरेको नगरपालिकाले अहिले ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको हो । नगरपालिकाले आगामी दिनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितासमेत आयोजना गर्ने तयारी गरेको जनाएको छ ।
नगर क्षेत्रमा खेलकुदको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले यस्ता प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिइने नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले बताए ।
