घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

शनिवार, कार्तिक २१ २०८३
शनिवार, कार्तिक २१ २०८३
  • घरघरमा पुग्दै व्यापारी, तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि
    भक्तपुर । घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट चाँगुनारायण नगरपालिका-९ ताथलीसम्मका किसानलाई प्रतिस्पर्धामा व्यापारीले घरघरमै गएर बढी रकममा फूल किन्न थालेपछि बजारमा मूल्य वृद्धि भएको हो ।
     
    आजदेखि तिहार सुरु भएको छ भने शुक्रबार धनतेरस सुरु भएसँगै बजारमा उपभोक्ताको भीड बढेको छ । भीड बढेसँगै तिहारमा फूल र मालाको मूल्य वृद्धि भएपछि उपभोक्ता भने मारमा परेका छन् । आज बजारमा एउटा मखमली फूलको माला रु ८० मा व्यापारीले बिक्री गरिरहेका छन् । घरदैलोमा आएका व्यापारी एवं बिचौलिया गुण्डुका किसानबाट  शुक्रबारसम्म मखिमली फूलको प्रतिमाला रु २२ देखि २५ सम्ममा खरिद गरेकोमा आजदेखि किसानको घरदैलोबाटै रु ३० देखि ३५ मा खरिद गर्न थालेका छन् । 
     
    गुण्डुका पुष्प व्यवसायी प्रमिला घतानीले आजदेखि घरदैलोमा आएका व्यापारीले किसानबाट रु ३० देखि रु ३५ मै मखमली फूलको माला लैजान थालेको बताइन् । आजदेखि व्यापारीले मखमली फूलको माला बजारमा रु ८० देखि रु ९० मा बिक्री गर्न थालेका छन् । किसानले भन्दा व्यापारी र बिचौलियाले तेब्बर मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ता मारमा परेका हुन् ।
     
    सयौँ वर्षदेखि पुस्तान्तरण हुँदै मखमली फूल र मालाको उत्पादन तथा व्यापार गर्दै आएका चाँगुनारायण-९ ताथलीका बनमालाले पनि आजदेखि रु ३० मा मखमली फूलको माला बिक्री गरेको बताउँदै तिहार आएसँगै फूलमालाको बिक्री र मूल्य बढेको बताए । 
     
    भक्तपुरको गुण्डुमा पछिल्लो १५ वर्षयता व्यावसायिक रूपमा करोडौँको फूल तथा माला बिक्री गर्दै आउनुभएकी मीना नगरकोटीले तिहार आएसँगै फूल र मालाको मूल्य बढेको बताइन् । व्यापारी र बिचौलियानै प्रतिस्र्धामा मूल्य बढाएर किसानको घरबाटै फूल माला उठाउन थालेपछि किसानलाई राहत मिलेको बताउँदै व्यापारीले भने किसानबाट लगेको मूल्यभन्दा दोब्बर-तेब्बरमा बिक्री गर्ने गरेका उनको भनाइ छ । 
     
    स्थानीय उर्मिला नगरकोटीले यतिखेर फूल र मालाको व्यापारबाटै एक परिवारले रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गरेको बताइन् । उनका अनुसार गुण्डुबाट मात्रै एक वर्षमा रु पाँच करोडभन्दा बढीको फूल माला उत्पादन तथा बिक्री हुने गरेको छ । 
     
    स्थानीय अनिता बस्नेतले यसवर्ष आफ्नो ४० आना अर्थात् साढे दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन लाखको आम्दानी गरेको बताउदै आजदेखि सयपत्री र मखमली फूल तथा मालाको मूल्य बढेको बताइन् । सयपत्री फूललाई स्थानीयले मुठा बनाएर बिक्री गर्ने गरेका छन् । चार-पाँच वटा सयपत्री फूलको मुठा पारेर एक मुठाको रु २० देखि रु २५ सम्ममा बिक्री हुने गरेको उनले बताइन् । 
     
    सयपत्री फूललाई पाथी तथा ढ्वाङमा भरेर पनि बिक्री गरिन्छ । ढ्वाङमा तीन पाथीभन्दा बढी हुन्छ । किसानले सयपत्री ढ्वाङको रु ७०० सम्म किसानले बिक्री गरेका बताउँदै त्यही फूल बजारमा किलोको रु ४०० देखि ५०० मा बिक्री भइरहेका बस्नेत उल्लेख गरिन् । 
     
    यहाँका कृषकले वर्षमा कम्तीमा पनि एकै घरबाट रु ५०० देखि रु १० हजारसम्म मखमली फूलको माला उनेर बिक्री गरिरहेका छन् । कतिपय घरबाट रु ३० हजारदेखि रु तीन लाखसम्मको सयपत्री फूल बिक्री भइरहेको स्थानीय बताउँछन् । 
     
    मध्यपुरथिमि नगरपालिका-५ राधेराधेस्थित पूजा पसल सञ्चालक कमलनाथ पौडेलले सयपत्री फूल किलोको रु ४५० मा आज बिक्री गरिरहेको बताउँदै मखमली फूलको माला रु ७० मा बिक्री गरेको उल्लेख गरे । फूलको मूल्य भोलिदेखि अझै बढ्ने उनले बताए ।
     
    यस वर्ष लामो झरी र वर्षातका कारण सयपत्री फूल मरेर उत्पादन नष्ट भएपछि सयपत्री फूल महँगो भएको पुष्प व्यवसायी रामेश्वर बासीले बताए । उनले टनेल बाहिर खल्ला रूपमा भएका फूलखेती सबै नष्ट भएको र टनेलमा लगाएको फूल बजारमा आएकाले फूलको मूल्य वृद्धि भएको उल्लेख गरे । व्यापारीले सयपत्री फूलको माला भने लम्बाईको साइजअनुसार प्रतिगोटा रु १५० देखि रु ८०० सम्ममा बिक्री गरिरहेका उनले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij