काठमाडौं । नेपालमा आयोजना हुने आईसीसी विश्वकप छनोट प्ले–अफ प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको तालिकाअनुसार नेपालले पहिलो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालले डिसेम्बर ४ अर्थात् मंसिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल मंसिर २० गते युगान्डासँग खेल्नेछ ।
त्यसैगरी नेपालले मंसिर २४ गते संयुक्त अरब इमिरेट्स (यूएई), मंसिर २६ गते जर्सी र मंसिर २८ गते क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो छैटौँ खेल पुस ३ गते नामिबिया र अन्तिम खेल पुस ६ गते कुवेतसँग खेल्ने तालिका छ ।
प्रतियोगितामा नेपालसहित आठ टोली सहभागी हुनेछन् । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पुछारमा रहेका नेपाल, नामिबिया, क्यानडा र यूएईसँगै च्यालेन्ज लिगबाट छनोट भएका इटाली, कुवेत, युगान्डा र जर्सीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको अङ्क तालिकामा शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन् ।
यसअघि लिग–२ को शीर्ष चारमा रहँदै अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले ग्लोबल क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।