काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो साढे १२ वजे विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ।
त्यसैगरी साँझ ५ बजे हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमने–सामने हुनेछन् । तीन खेल खेलिसकेको विराटनगरले एउटा मात्र खेल जितेको छ। आफ्नो चौथो खेलमा विराटनगर दोस्रो जितका लागि मैदानमा उत्रने छ।
उता जनकपुर बोल्ट्सले पनि तीन खेल खेलिसक्दा एकमा हार बेहोरेको छ भने दुई खेलमा विजयी भएको छ। आज जनकपुर लगातार तेस्रो जितको खोजीमा अुनेछ।
आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। अपराजित लुम्बिनी लायन्सले दुई खेलमध्ये एक खेलमा जित निकालेको थियो भने अर्को खेल वर्षाले रोकिएपछि अङ्क बाँडेको थियो।
त्यस्तै पोखरा एभेन्जर्सले दुई खेल खेलिसक्दा पनि जित निकाल्न सकेको छैन। दुई खेलमा पराजित पोखरा एभेन्जर्स तेस्रो खेलमा जित्नै पर्ने दबाबमा छ। गएराती सम्पन्न खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई हराएको थियो भने सुदूरपश्चिम रोयपल्ससँग चितवन राइनोज पराजित भएको थियो।