काठमाडौं । चीनमा जारी ‘बेल्ट एन्ड रोड यू–१९ सिरिज’ मा नेपाली महिला क्रिकेट टोलीले विजयी सुरुआत गरेको छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई सात विकेटले पराजित गरेको हो ।
थाइल्याण्डले दिएको ३६ रनको सामान्य लक्ष्य नेपालले नौ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा साना प्रवीनले सर्वाधिक १५ रन बनाउँदा टीका साहले अविजित १२ र कप्तान सोनी पाख्रिनले पाँच रनको योगदान दिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड १४.३ ओभरमा ३५ रनमै अलआउट भएको थियो । उसका कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
थाइल्याण्डको ब्याटिङ धराशायी बनाउने क्रममा नेपालका मनिषा उपाध्याय, टीका साह, रिया शर्मा र रचना चौधरीले समान दुई–दुई विकेट लिए । अनु कडायतले एक विकेट हात पारिन् ।
प्रतियोगितामा नेपालसँगै आयोजक चीन, हङकङ र थाइल्याण्ड सहभागी छन् । नेपालले पहिलो खेलमै सहज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।