भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्दै आएकी ५१ वर्षीया गीता तिमल्सिना रहेकी छन् । उनी काठमाडौंको शंखरापुर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब साढे ७ बजे आँखा अस्पतालबाट सडक पार गरी लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००४५ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी तिमल्सिनालाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल, कौशलटार लगिएको थियो । अस्पतालमा चिकित्सकले बिहान ७ः५० बजे उनलाई मृत घोषणा गरेका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल, दुवाकोट लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालक पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ निवासी ३० वर्षीय राजकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।