भक्तपुर । सूर्यविनायक नगरपालिकामा सञ्चालित अन्तरवडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले जितेको छ । फाइनलमा वडा नं. ९ नङ्खेललाई ३–१ गोल अन्तरले पराजित गर्दै चित्तपोलले उपाधि जितेको हो ।

सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा वडा नं. ९ नङ्खेल दोस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा वडा नं. ४ दधिकोटले वडा नं. ८ सिपाडोललाई ४–१ गोल अन्तरले पराजित गर्दै तृतीय स्थान हासिल गरेको छ । सिपाडोलले सान्त्वना स्थान प्राप्त गरेको छ ।

प्रतियोगितामा वडा नं. १० का युग देउजा उत्कृष्ट खेलाडी घोषित भए । सोही वडाका रोजित खत्री सर्वाधिक गोलकर्ता र अश्विन देउजा उत्कृष्ट गोलकिपर बने । उपविजेता वडा नं. ९ का प्रशिक्षक दिपेश खत्री उत्कृष्ट प्रशिक्षक घोषित भए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापा प्रमुख अतिथि तथा नेपाल जिम्नास्टिक सङ्घका उपाध्यक्ष बचन देउजा विशेष अतिथिका रूपमा सहभागी थिए ।

समारोहमा विजेता टोली, उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्य, स्थानीय बासिन्दा, खेलकुदप्रेमी र सञ्चारकर्मीको उपस्थिति थियो ।
