भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नंखेलले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । नंखेल प्लानिङ क्षेत्रमा निर्माण गरिएको सुविधासम्पन्न भवनको बिहीबार नगर प्रमुख वासुदेव थापाले उद्घाटन गरेका हुन् ।
कुल २ करोड ३६ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनमा सेवाग्राही तथा कर्मचारीका लागि आवश्यक विभिन्न संरचना तयार गरिएको छ । भवनमा वडा अध्यक्ष र सचिवको कार्यकक्ष, प्रशासनिक कक्ष, नागरिक सहायता कक्ष, बालमैत्री कक्ष, दिवा खाजा कक्ष तथा बैठक हललगायतका सुविधा राखिएका छन् ।
यसअघि साँघुरो कोठाबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो। नयाँ भवन निर्माण भएपछि सेवाग्राहीलाई सहज र व्यवस्थित रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले स्थानीय सरकारको सुरुवाती अवस्थामा आवश्यक प्रशासनिक संरचना, जनशक्ति र भौतिक पूर्वाधारको अभाव रहेको स्मरण गरे । सीमित स्रोतसाधनबाट सुरु भएको नगरपालिकाले क्रमशः संस्थागत संरचना विस्तार गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउँदै लगेको उनले बताए ।

उनले दुई कार्यकालको अवधिमा नगरवासीबाट प्राप्त जिम्मेवारीलाई साझा दायित्वका रूपमा निर्वाह गर्दै कानुन र संविधानको परिधिभित्र रहेर विकास निर्माण तथा संस्थागत सुधारका काम अघि बढाएको उल्लेख गरे । जनताबाट संकलित करको उचित सदुपयोग गर्दै पूर्वाधार विकासलाई प्राथमिकता दिइएको उनको भनाइ थियो ।
नंखेल प्लानिङ क्षेत्रको विकासका लागि सार्वजनिक जग्गा व्यवस्थापन गरी वडा कार्यालयसँगै खेलमैदान तथा नगरस्तरीय खेल पूर्वाधार निर्माणका लागि समेत स्थान छुट्याइएको नगर प्रमुख थापाले जानकारी दिए । प्लानिङ क्षेत्रको केन्द्रमा रहेको भवनबाट भविष्यमा वडा सीमामा परिवर्तन भए पनि वडा नं. ८, ९ र १० का नागरिकलाई सेवा लिन सहज हुने उनको भनाइ थियो ।

भवन निर्माणमा नगरपालिकाको आन्तरिक स्रोत र आफ्नै प्राविधिक जनशक्ति प्रयोग गरिएको पनि उनले बताए । निर्माणको गुणस्तरमा ध्यान दिइए पनि केही भागको फिनिसिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।
कार्यक्रममा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पछिल्लो साढे नौ वर्षमा नगरपालिकाले सडक, पुल तथा भवन निर्माणलगायतका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। भौतिक विकाससँगै प्रशासनिक सुधार, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखिएको उनले उल्लेख गरे ।

वडा अध्यक्ष भगवान खत्रीले नगरपालिकाको सहयोग र समन्वयमा भवन निर्माण सम्पन्न भएको बताए । नयाँ भवनबाट सेवा सुरु भएसँगै सेवाग्राही र कर्मचारी दुवैलाई सहज हुने विश्वास व्यक्त गर्दै उनले यसलाई वडाको संस्थागत विकासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताए ।
वडा नं. १० को भवनकै डिजाइनमा निर्माण गरिएको यो भवन २ रोपनी ११ आना क्षेत्रफलमा फैलिएको छ । वडा सचिव अच्युतम खत्रीका अनुसार भवन निर्माणको पहिलो चरणमा १ करोड ८१ लाख रुपैयाँ खर्च भएको थियो भने थप ५५ लाख रुपैयाँ खर्च गरी कुल लागत २ करोड ३६ लाख रुपैयाँ पुगेको हो ।
भवनका केही फिनिसिङका काम भने अझै पूरा हुन बाँकी छन् । उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रवक्ता, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो ।

