कौशलटारमा बिरुवा नष्ट गरिएको भन्दै छानबिन र पुनःरोपण गर्न माग

कौशलटारमा बिरुवा नष्ट गरिएको भन्दै छानबिन र पुनःरोपण गर्न माग

बिहिवार, कार्तिक १९ २०८३
बिहिवार, कार्तिक १९ २०८३
  • कौशलटारमा बिरुवा नष्ट गरिएको भन्दै छानबिन र पुनःरोपण गर्न माग

    भक्तपुर । मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा रोपिएका बिरुवा उखेली तथा काटेर नष्ट गरिएको भन्दै राष्ट्रका लागि २ घण्टा अभियान प्रवर्द्धन केन्द्र, नेपालले छानबिन गरी पुनःरोपण गर्न माग गरेको छ ।

    केन्द्रले जिल्ला प्रशासन कार्यालय भक्तपुर र सडक डिभिजन कार्यालय भक्तपुरलाई ज्ञापन पत्र बुझाउँदै कौशलटारमा नष्ट गरिएका बिरुवाको अवस्था पहिचान गरी पुनःरोपण गर्न तथा अरनिको राजमार्ग क्षेत्रको हरियाली र सडक सुरक्षा संरचनाको उचित व्यवस्थापन गर्न माग गरेको हो ।

    केन्द्रका अनुसार अभियानले सडक सरसफाइ, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनअन्तर्गत हालसम्म अरनिको राजमार्ग तथा आसपासका क्षेत्रमा करिब १५ हजार बिरुवा रोपेर संरक्षण गर्दै आएको छ । जडीबुटीदेखि सूर्यविनायक चोकसम्म राजमार्गको दुवैतर्फ तथा लोकन्थली, कौशलटार, गठ्ठाघर, शङ्खधर चोक र राधेराधेलगायतका क्षेत्रमा विभिन्न सरकारी निकाय, स्थानीय तह र नागरिकको सहकार्यमा वृक्षरोपण गरिएको केन्द्रका कार्यवाहक अध्यक्ष जयराज पौडेलले जानकारी दिए । 

    तर, कौशलटार चोकमा करिब दुई वर्षअघि रोपिएका बिरुवा उखेली, काटी तथा नष्ट गरिएको अवस्थामा भेटिएको अध्यक्ष पौडेलले बताए । नागरिकको श्रम, समय र सरकारी निकायको सहयोगबाट स्थापित हरियाली नष्ट हुनु दुःखद भएको भन्दै केन्द्रले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

    केन्द्रले बिरुवा कसले र किन नष्ट गरेको हो भन्ने विषयमा छानबिन गरी जिम्मेवार पक्षलाई प्रचलित कानुनअनुसार कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्था गर्न आग्रह गरेको छ । नष्ट गरिएका बिरुवाको स्थलगत निरीक्षण गरी क्षतिको विवरण तयार पार्न र उपयुक्त प्रजातिका बिरुवा पुनःरोपण गरी हरियाली पुनःस्थापना गर्न पनि माग गरिएको छ ।

    त्यस्तै, जडीबुटीदेखि सूर्यविनायक चोकसम्म तथा आसपासका सडक क्षेत्रमा रोपिएका बिरुवा, सडक किनाराको सरसफाइ, आइल्यान्ड, बसस्टपका प्रतीक्षालय, रेलिङ तथा सुरक्षा बारको अवस्थाबारे स्थलगत अनुगमन गरी आवश्यक सुधार गर्न आवश्यक रहेको केन्द्रका उपाध्यक्ष नरेश रञ्जितले जानकारी दिए । विशेषगरी भत्किएका, भाँचिएका वा खुस्किएका रेलिङ तथा सुरक्षा बारको मर्मत वा प्रतिस्थापन गर्नुपर्ने केन्द्रको माग छ । 

    सडकका सुरक्षा संरचनाको वास्तविक मर्मत नगरी रङरोगन मात्रै गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने भन्दै पैदलयात्रीको सुरक्षासँग जोडिएका प्रतीक्षालयलगायतका संरचना तत्काल सुधार गर्न पनि ध्यानाकर्षण गराइएको सचिव गोविन्द प्रसाद आचार्यले जानकारी दिए ।

    त्यसैगरी, जेब्रा क्रसिङ, सडक बत्ती, ट्राफिक लाइट तथा पैदलयात्री र सवारीसाधनको सुरक्षित आवागमनका लागि आवश्यक सडक चिह्न र रेखाङ्कनको नियमित मर्मत तथा रङरोगन गर्नुपर्ने समेत आचार्यले बताए । 

    सडक क्षेत्रमा रोपिएका बिरुवाको गोडमेल, छाँटकाँट, संरक्षण तथा आवश्यक पुनःरोपणका साथै नियमित सरसफाइ र सौन्दर्यीकरणलाई निरन्तरता दिन पनि आग्रह गरिएको केन्द्रका अर्का सचिव चन्द्र कृष्ण श्रेष्ठले बताए । यसका लागि सडक डिभिजन कार्यालय, डिभिजन वन कार्यालय, सम्बन्धित नगरपालिका तथा वडा कार्यालय र अभियानबीच समन्वय गरी दीर्घकालीन कार्ययोजना बनाउन केन्द्रले माग गरेको छ ।

    केन्द्रका सचिव गोविन्दप्रसाद आचार्यद्वारा हस्ताक्षरित २०८३ कात्तिक १७ गतेको पत्रमा उल्लेखित विषयमा स्थलगत निरीक्षण, छानबिन, पुनःरोपण तथा मर्मतसम्भारका काम अभियानको समन्वय र सहकार्यमा अघि बढाउन अनुरोध गरिएको छ ।

    केन्द्रले जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग आवश्यक सहजीकरण तथा समन्वयका लागि आग्रह गर्दै डिभिजन वन कार्यालय भक्तपुर, मध्यपुर थिमि नगरपालिका र नगरकोट वन कार्यालयलाई समेत पत्रको बोधार्थ पठाएको छ । सार्वजनिक सम्पत्ति, वातावरणीय सन्तुलन र नागरिक सुरक्षाको संरक्षणका लागि अभियानले निरन्तर सहकार्य तथा खबरदारी गर्ने जनाएको छ ।

    rel 1.jfif

    rel 2.jfif

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij