वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुख्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७.५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
सुख्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए । चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उहाँले राजस्व सङ्कलन पनि घटेको उल्लेख गरे ।
चालु आर्थिक बर्षको साउनमा ३ अर्ब ७५ करोड रुपैयाँ, भदौमा ४ अर्ब ६४ करोड रुपैयाँ, असोजमा ४ अर्ब ३६ करोड रुपैयाँ र कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।
कार्यालयले गत आर्थिक बर्षको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत आर्थिक बर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड ४ लाख ५६ हजार रुपैयाँले राजस्व सङ्कलनमा कमी आएको छ ।