काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहीबार रविसँग बयान लिइएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा उनलाई मंलबार कास्कीबाट रुपन्देही ल्याएको थियो । रुपन्देहीमा उनीसँग तीन दिन बयान लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो ।
बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । लिखित बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएका लामिछानेलाई प्रहरीको घेराबाट सरकारी वकिल कार्यालय प्रवेश गराउने र ल्याउने गरिएको छ । बयान चलिरहँदा भैरहवामा सरकारी वकिल कार्यालय आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय आसपासको १ सय मिटर क्षेत्रमा भने नाराजुलुस गर्न निषेध गरेको छ ।सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति सुद्धिकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न गत मंगलबार भैरहवा ल्याइएको थियो।
सुप्रिम सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप रविमाथि छ। त्यस्तै लामिछानेको नाममा १ करोड ९६ लाख रुपैयाँ निकासा भएको पाइएको छ।
यसका साथै मौसमले साथ दिएमा बुद्ध एयरबाट रविलाई साँझ ८ बजेसम्मको फ्लाइटमा पोखरा पठाइने छ । यसै प्रकरणमा उनका व्यापारिक साझेदार छविलाल बन्जाडे जोशीसँग यसअघि नै बयान लिएर पोखरा पठाइसकिएको छ। अर्का साझेदार जीबी भनिने गीतेन्द्रबाबु राई भने फरार छन्।