भैरहवा ल्याइएका रवि लामिछानेसँग लिखित बयान सुरु

भैरहवा ल्याइएका रवि लामिछानेसँग लिखित बयान सुरु

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • भैरहवा ल्याइएका रवि लामिछानेसँग लिखित बयान सुरु

    काठमाडौं । सहकारी ठगीबारे अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु गरिएको छ ।

    मंगलबार दिउँसो भैरहवा ल्याएका लामिछानेसँग मौखिक प्रश्न सोधिएकोमा आज बिहान साढे १० बजेदेखि लिखित बयान लिन सुरु गरिएको हो । लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।

    जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रेमराज पौडेलसहितको टोलीले मंगलबार साँझ पौने ६ बजेसम्म २० भन्दा बढी प्रश्न सोध्दा अधिकांश प्रश्नमा लामिछानेले इन्कारी बयान दिएका थिए । बयानमा लामिछानेले आफूले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको इन्कार गरेका थिए । उनले आफ्नो नाम लेखेर कसले पैसा जम्मा गरिदियो भन्ने थाहा नभएको बताएका थिए ।

    लामिछानेले आफू सुप्रिम सहकारीको सदस्य र ऋणी नभएको जिकिर गर्दै सुप्रिम मात्रै नभएर अन्य सहकारी ठगीमा पनि आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका थिए । उनले बयानका क्रममा सरकारले दुःख दिने नियतले आफूलाई पक्राउ गरी हिरासतमा राखेको बताएका थिए । 

    लामिछानेमाथि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा सारेर सहकारी कानुनविपरीत खर्च गरिएको आरोप छ ।

    संसदीय समितिको छानबिन प्रतिवेदनमा सुप्रिम सहकारीबाट १ करोड ९६ लाख लामिछानेको नाममा २ करोड ५० लाख, छविलाल जोशीको नाममा र साढे १२ करोड अन्य व्यक्तिहरूको नाममा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ ।

    लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न कास्की प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई पहिलो पटक कात्तिक ४ गते ६ दिनको म्याद थप गरेको थियो ।

    दोस्रो पटक ७, तेस्रो पटक १० र चौथो पटक १३ दिनको म्याद थप भएर उनीमाथि अनुसन्धान भइरहेको छ । लामिछानेलाई मंगलवार दिउँसो १ बजे पोखरा विमानस्थलबाट भैरहवा हुँदै जिल्ला सरकारी वकिलको कार्यालय पुर्याइएको थियो ।

    रुपन्देही जिल्ला अदालतले कार्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij