काठमाडौं । जापानमा अवैध रुपमा नेपाली नागरिक लिएर गएको प्रकरणमा मुछिएका कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि म्याद थप गर्ने अदालत लाने तयारी भएको छ ।
आइतबार विराटनगर स्थित बरगाक्षीमा रहेको डेराबाट पक्राउ परेका अधिकारीलाई सोही दिन अदालतले हिरासतमा राखी अनुसन्धान गर्न २ दिनको समय दिएको थियो । सो समयमा अनुसन्धान नसकिएकाले थप म्याद थप गर्न अदालत लैजान लागिएको जिल्ला प्रहरी परिसर काठामाडौंले जनाएको छ ।
परिसरले अदालतले दिएको समयमा अनुसन्धान नसकिएकाले म्याद थपको अनुमतिका लागि अदालत लैजाने तयारी भएको जनाएकाे छ ।
जापानमा भएको कार्यक्रममा सहभागी पूर्व मन्त्री अधिकारी जाँदा अरू पनि जापान पुगेपछि उनी विवादमा तानिएका थिए । उनले आफूलाई जापान लैजाने समूहले नै अरूलाई पनि नक्कली कागजात बनाएर आफूसँगे जापान पठाउन खोजेको र आफूले थाहा पाएपछि नेपाल फर्कीएकाे दाबी गर्दै आएका छन् । उनीसँगै पुगेका अन्य तीन जना सहित उनलाई कार्यक्रममा सहभागी हुनै नदिई जापान अध्यागमनले नेपाल फर्काएको थियो ।
उनी नेपाल फर्किएसँगै उनीसँग जापान पुगेका तीन जना पक्राउ परेका थिए । उनीसँगै जापान पुगेका र फर्किएपछि प्रहरीद्धरा पक्राउ परेका खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटाका विषयमा पनि अनुसन्धान भइरहेको छ ।
उनीहरू पक्राउ परेसँगै पूर्व मन्त्री अधिकारीलाई जापान पठाउने काममा संलग्न तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–९ का वीरबहादुर सुनुवार, नुवाकोट विदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे रहेका छन् ।
उनीहरूका विरुद्ध भने सरकारी कागजात किर्ते र मानव बेचबिखनको कसुरमा अनुसन्धान भइरहेको छ । घटनामा पूर्व मन्त्रीको संलग्नता भए नभएको विषयमा अनुसन्धान भइरहेको छ ।