काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं नेपाली कांग्रेसका सांसद बद्री प्रसाद पाण्डे र सोही पार्टीका अर्का सांसद राजेन्द्र बजगाईंबीचको विवाद सतहमा आएको छ । केहीदिन अघि महंगो हवाइ भाडाविरुद्ध प्रदर्शन गर्दै पर्यटनमन्त्री पाण्डेको क्षमतामाथि प्रश्न उठाएका सांसद बजगाईंले मंगलबार मन्त्री पाण्डेमाथि रकम लिएर क्यासिनोको लाइसेन्स बाँडेको दाबी गरेका छन् ।
सांसद बजगाईं पर्यटन व्यवसायी पनि हुन् । गोरखा–१ बाट निर्वाचित सांसद बजगाईं र बाजुरा–१ बाट निर्वाचित सांसद पाण्डे दुवै कांग्रेसभित्र इतर समूहमा सक्रिय छन् । पार्टीभित्र एउटै समूहमा रहेपनि यी दुईबीचको विवाद बढ्दै गएको हो ।
मंगलबार बिहान सांसद बजगाईंले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालनको इजाजतपत्र दिँदा घुस लिएको आरोप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत उक्त अनुमतिपत्रसमेत सार्वजनिक गरेका छन् । बजगाईंले सार्वजनिक गरेको पत्र अनुसार गत साउनमा क्यासिनोले अनुमति पत्र पाएको देखिन्छ ।
पाण्डे असार ३१ गते मन्त्री नियुक्त भएका थिए । असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले त्यसको भोलिपल्टै २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए, जसमा पाण्डेले पर्यटनमन्त्रीको जिम्मेवारी पाएका थिए ।
लगत्तै साउनमा रोयल टाइगर रिक्रियसन प्रालिले साउन ११ गते इजाजतपत्र पाएको देखिन्छ ।
‘एक क्यासिनो संचालकले हामिहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे । दृष्टान्तः मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यों उपरोक्त नेताले त्यो पैसा फ़िर्ता पठायो,’ बजगाईंले भनेका छन्, ‘मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिँड्छ, यो झुट हो किनभने सभापति गृह परराष्ट्रमन्त्री आफैँ क्यान छुट्याउने विषयमा आफैँ प्रधानमन्त्रीलाई ब्रिफ गर्दैगरेको १५ औं सांसद साक्षी छौँ ।’