काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धमा परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलाको इजलासले एनपीएलसम्बन्धमा दायर रिट निवेदनमाथि आइतबार सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । अन्तरिम आदेश जारी नहुने आदेशसँगै उक्त रिट निवेदनमा लिखित कारण पेस गर्न भनिएको छ ।
जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट आमीर अख्तरले रिट दायर गर्दा एनपीएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन । यो आदेशसँगै १६ मंसिरमा सुरु हुने एनपीएल सञ्चालनका लागि बाटो खुला भएको छ ।
आमीरले नेपाल प्रिमियर लिगको अधिकार क्यानले आफूलाई दिएको जिकिर गरेका थिए । हाल नेपाल प्रिमियर लिग आफ्नो नाममा रहेकामा क्यानले प्रयोग गरेको भन्दै उनले उक्त नाममा प्रतियोगिता सञ्चालन नगराउन माग गर्दै रिट दिएका हुन् ।