काठमाडौं । सहकारी ठगी प्रकारणमा पक्राउ परेका पूर्वडिआईजी छविलाल जोशीलाई पनि थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआईजी जोशीलाई म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा पेश गरिएको थियो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनीहरु दुवै जनालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
लामिछाने कार्तिक २ गते पक्राउ परेका थिए भने जोशी असोज ६ गते पक्राउ परेका थिए । उनीहरुमाथि गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम ल्याएर अपचलन गरेको आरोप छ ।
सहकारी ठगीसम्बन्धी संसदीय छानिबिन समितिले पनि उनीहरुलाई सहकारीको रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।
रवि र पूर्वडिआईजी छविलाल जोशीसँगै गितेन्द्रबाबु राई (जिबी) सँग मिलेर सूर्यदर्शन सहकारीको तीन करोड बढी अपचलन गर्ने गीता पछाइ र नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पनि १० दिनकै म्याद थप भएको छ ।