धनराजमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

धनराजमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • धनराजमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् ।बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लेखकले ‘मुख हेरेर नभई, तथ्य प्रमाण हेरेर’ अनुसन्धान हुने बताएका हुन् ।

    ‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘तथ्य प्रमाणले उहाँले गैरकानूनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ, दोषीमाथि कसैको अनुहार हेरिँदैन ।’

    लेखकले संसदीय छानबिन समितिको सिफारिसअनुसार पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशी बञ्जाडेमाथि छानबिन भइरहेको बताए ।

    ‘कुमार रम्तेल जेलमा छन्, रविजी र छविलालमाथि अनुसन्धान अगाडि बढाएको हो,’ लेखकले भने, ‘एक जना व्यक्ति विशेषमा केन्द्रित भएको होइन, सहकारीको रकम हिनामिनामा धेरै मानिस कारबाही परेका छन् ।’

    उनले पक्राउ पुर्जी जारी भएकाहरूको प्रहरीले खोजी गरिरहेको बताए । सहकारीका लाखौं बचतकर्ताको अरबौं अपचलन भएको भन्दै लेखकले बचत फिर्ता गर्ने र ठगी गर्नेहरूलाई कारबाही गर्ने सुनिश्चित गर्न सरकार लागिपरेको बताए । 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका रविमाथि दुर्व्यवहार भएको विषयमा सम्बन्धित निकायसँग जानकारी मागिएको बताए ।

    ‘रविजीमाथि दुर्व्यवहार भएजस्तो लागेको छैन’, लेखकले भने, ‘अदालतभित्र भएको भए अदालतले पनि नोटिसमा लिन्थ्यो होला । अदालतले पनि भन्थ्यो होला । केही भनेको स्थिति छैन ।’

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij