काठमाडौं । जिल्ला अदालत मोरङले विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका ऋणीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतमा दायर मुद्दामा प्रतिवादी बनाइएका ऋणी विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
सहकारीको बचत अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष अमलेश कर्ण पुर्पक्षका लागि कारागारमा छन् ।
जिल्ला अदालत मोरङमा सहकारी संस्थाको रकम हिनामिना अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले दायर कात्तिक १ गते मुद्दा दायर गरिएको थियो । २ कात्तिकमा जिल्ला अदालतले अध्यक्ष कर्णलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।
मुद्दामा फरार प्रतिवादीका लागि पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत मोरङले जनाएको छ ।
जिल्ला अदालतमा ८८ जना ऋणीसहित १०९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएकामध्ये २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालक हुन् ।
प्रहरीको अनुसन्धानका क्रममा साे सहकारीमा ७ करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको थियाे ।