पाल्पा । पाल्पामा भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेकाे संख्या १० पुगेको छ । थप १६ जना घाइते भएका छन् । डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपराह्न ४ः५० बजे तिनाउ गाउँपालिका–६ मा दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा परेर सात महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाल्पाको तिनाउ गाउँपालिका–६ की ६० वर्षीया यन कुमारी पन्त, २८ वर्षीया उर्मिला अस्लामी रहेका छन् । त्यसैगरी ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृणबहादुर अस्लामी, तिनाउ गाउँपालिका २ खुर्सानेकी २० वर्षीया गीता सुनारका मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका १ ख्याकी बस्ने ६६ वर्षीया विष्णुकला कामी र सोही ठाउँकी ६५ वर्षीया दिल कुमारी सुनारको पनि दुर्घटनामा मृत्यु भएको छ ।
यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका १४ का ७० वर्षीय चन्द्रगोपाल रणपाल, साेहि ठाउँकै ६० वर्षीया चुना रणपाल र रुपन्देहीको देवदह नगरपालिका–५ की २९ वर्षीया दिलमाया जिसीको पनि दुर्घटनामा मृत्यु भएको छ । प्रहरीले जिप चालक पाल्पाको तानसेन नगरपालिका–१० बस्ने ४५ वर्षीय दानबहादुर चिदीलाई नियन्त्रणमा लिएकाे छ ।
प्रहरीका अनुसार मुस्ताङ जिप आफैं अनियन्त्रित भई कच्ची सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।
दुर्घटना लगत्तै प्रहरी चौकी प्रभास र जिला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टाेलीले घाइतेलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज पठाएको थियाे ।
क्षमताभन्दा बढी यात्रु रहेका कारण उकालोमा तान्न नसक्दा ब्याक भएर जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।