काठमाडौं । सूर्य उपासनाको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै विधिवत् रूपमा सम्पन्न हुँदैछ ।
चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठ पर्वको अन्तिम दिन आज सप्तमीका अवसरमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशय किनारमा पुगेर उदाउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य अर्पण गरेका छन् ।
यसअघि हिजो षष्ठीका दिन निराहार व्रत बसेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । त्यसपछि रातभर जलाशय किनारमा जाग्राम बसेका उनीहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गरेका हुन् ।
छठ पर्वका अवसरमा तराई–मधेससहित काठमाडौं उपत्यका र देशका विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय किनारमा श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ । पर्वलाई लक्षित गरी जलाशय तथा पूजा स्थलहरूलाई आकर्षक रूपमा सजाइएको छ ।
यसैबीच, सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ । यसअघि षष्ठीका दिन मात्रै सार्वजनिक बिदा दिँदै आएको सरकारले यस वर्ष पहिलो पटक सप्तमी अर्थात् उदाउँदो सूर्यलाई अर्घ्य दिने दिन पनि बिदा दिएको हो ।