काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चितवन राइनोजले कर्णाली याक्ससँग तथा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछन् ।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा चितवन र कर्णाली आमनेसामने हुनेछन् । चितवन अंक तालिकाको चौथो स्थानमा रहँदै प्लेअफमा पुगिसकेको छ भने कर्णाली सातौं स्थानमा छ ।
यस्तै, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ भने पोखरा पुछारमा रहेको छ ।
आजका दुवै खेलले अंक तालिकाको अन्तिम समीकरण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन् । साथै, प्लेअफमा पुगिसकेका टोलीको अन्तिम स्थानसमेत तय हुनेछ ।