काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना नेता आज चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जान लागेको हो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार भ्रमणका क्रममा नेपाल र चीनका राजनीतिक दलबीच अनुभव आदानप्रदान तथा विभिन्न समसामयिक विषयमा छलफल हुनेछ ।
प्रतिनिधिमण्डलले सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाहमा सुधार, संस्थागत क्षमता अभिवृद्धि र जनताको अपेक्षाअनुसार राजनीतिक नेतृत्वको भूमिकालगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणलाई दुई देशका राजनीतिक दलबीचको संवाद र आपसी सम्बन्ध विस्तारसँगै विकासका क्षेत्रमा सहकार्यका सम्भावना खोज्ने अवसरका रूपमा लिइएको रास्वपाले जनाएको छ । यसबाट नेपाल र चीनबीच राजनीतिक समझदारी तथा विकास साझेदारी थप मजबुत हुने पार्टीको अपेक्षा छ ।
आचार्य नेतृत्वको टोलीमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटालगायत २० जना सहभागी हुनेछन् ।