भक्तपुर । जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा परशुराम पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । समितिको जीतपुर गणेश मन्दिरमा भएको साधारण सभाबाट उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै समितिका उपाध्यक्ष उमेश कुमार खड्का, सचिवमा राम बहादुर खत्री, कोषाध्यक्षमा राम भक्त बानियाँ सदस्यहरूमा रवीन्द्र भण्डारी, कृष्ण प्यारी थापा कार्की, रोशन तिभिल्सिना, गंगा प्रसाद घोरासाइने , जयराम लामा, ईश्वरी गुरुङ्ग र मदन गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले एक घर एक धारा अवधारण अनुसार अभियान सम्पन्न नभएसम्म आफू खटेर लाग्ने बताएका थिए । उनले खानेपानी सँगै प्रदूषित पानीको समस्या रहेको बताउँदै प्रदूषित पानीलाई व्यवस्थापनका लागि सबै मिलेर के गर्न सकिन्छ भनी हेर्नु पर्ने उनले बताए ।
यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष जनक खत्रीले सुडालको ठुलो खानेपानी वितरण गर्ने उपभोक्ता समितिका रूपमा रहेको जीतपुरको समितिमा आगामी दिनमा भई पर्ने समस्या समाधानका लागि आफू लागी पर्ने बताए । उनले नयाँ बस्ती विकास सँगै पानीको माग पनि बढ्दो रहेको बताउँदै यसको समाधानका लागि सुडाल भर नै आफू लागि पर्ने बताए ।
यस्तै कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि राजेश खड्का, नेपाली काँग्रेसका सुडाल वडा समितिका सभापति तीर्थराज घोरासाइनी, नेकपा माओवादीका मदन श्रेष्ठ, नेमकिपाका प्रतिनिधि सन्तराम दुलाल र राप्रपाका प्रतिनिधि लक्ष्मण थापाले खानेपानी समस्या समाधानका लागि आफ्नो पार्टी तथा आफूहरू जस्तो सुकै सहयोग गर्न तयार भएको बताएका थिए ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ समितिको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष प्रेम कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन राम भक्त बानियाँले गरेका थिए । यस्तै स्वागत मन्तव्य कृष्ण प्यारी थापा कार्कीले गरेकी थिइन् ।
जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत हाल ६३६ घरधुरीले खानेपानी प्राप्त गरी रहेका छन् । यो चाँगुनारायण नगर भित्रको ठुलो खानेपानी वितरण गर्ने समितिमा एक हो । २०३५ साल देखि खानेपानी सहज रूपमा उपलब्ध गराउन प्रयासरत यस समितिले आगामी दिनमा १५ सय भन्दा बढी उपभोक्तालाई खानेपानी कसरी वितरण गर्न सकिन्छ भनी अध्ययन गरी रहेको छ ।
साधारणसभा कार्यक्रममा खानेपानी समितिमा २०३५ साल देखि २०७८ सम्म योगदान दिनुहुने लोक बहादुर पण्डित क्षेत्रीलाई नगद २५ सहित सम्मान पत्रबाट सम्मानित गरिएको थियो । भने खानेपानीमा योगदान दिँदै आउनुभएका महेन्द्र प्रसाद घोरासाइनी, उदयबहादुर कार्की, अम्बिका खत्री र महेन्द्र बहादुर खत्रीलाई सम्मान गरिएको थियो ।