भक्तपुर । मध्यपुरथिमिको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रको आगलागीबाट १५ लाखौंको क्षति भएको छ। राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको कवाडी संकलन केन्द्रमा करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणका लागि जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरका दुईवटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौँबाट समेत दमकल परिचालन गरिएको थियो।
त्यसैगरी आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट भक्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापा सहितको २९ जनाको टोली, नेपाली सेना भैरव वाहन गुल्मबाट सहसेनानी भगवान केसीको कमान्डमा २० र मध्यपुरथिमि वृत्तबाट नेपाल प्रहरी विकास केसीको नेतृत्वमा १० जनाको टोलीले खटिएको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि नियन्त्रणमा लिन दुई घण्टा लागेको थियो ।
शनिवार दिउँसो २ वजे मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ कमेरोटारमा रहेको सो कवाडी सङ्कलन केन्द्रमा आगलागी शुरू भएको थियो । आगलागीबाट कवाडी सङ्कलन केन्द्रमा राखिएका सबै सामग्री नष्ट भएको प्रहरीले जनाएको छ ।