काठमाडौं । चेकिङ ड्युटी सकेर फर्किने क्रममा प्रहरीको भ्यानबाट खसेर एक प्रहरीको मृत्यु भएको छ। प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीको गएराति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर मृत्यु भएको हो ।
सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा उनी घाइते भएका थिए। तत्काल उद्धार गरी उनलाई घटनास्थल नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपश्चात् नेपाल एपिएफ अस्पतालमा लगेर उपचार गराउँदा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रहरीले एलजीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ भने भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।