प्रणय दिवसमा ३ लाख ५० हजार स्टिम गुलाफको माग

प्रणय दिवसमा ३ लाख ५० हजार स्टिम गुलाफको माग

बुधवार, माघ २४ २०८०
बुधवार, माघ २४ २०८०
  • प्रणय दिवसमा ३ लाख ५० हजार स्टिम गुलाफको माग

    काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष ३ लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए । 

    मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट  गुलाफ ल्याइएको उनको भनाइ छ ।  यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० रुपैयाँदेखि एक सयसम्म पर्ने उनले बताए। आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ । 

    पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ । तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यो दिवस मनाउने प्रचलन छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

    अध्यक्ष तामाङका कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने बताए ।  प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार ३ करोड ५० लाख रुपैयाँको हुने उनको भनाइ छ । उनले वार्षिक ३ अर्ब ७ करोड रुपैयाँको फूलको कारोबार हुने गरेका बताए। 

    रातो गुलाफ विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरुपमा लगाउने गरिएको छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६ सय ७५ विभिन्न किसिमका पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

    व्यावसायिकरूपमा ४ सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij