काठमाडौं । पछिलो छ महिनामा १० लाख ५२ हजार ५५ सवारी साधन ट्राफिक कारबाहीमा परेका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मुलुुकभर गरिएका ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
नेपाल प्रहरीका अनुसार, राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख, कोशी प्रदेशबाट सात करोड ८७ लाख, मधेश प्रदेशबाट १० करोड पाँच लाख, बागमती प्रदेशबाट सात करोड ८८ लाख रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी गण्डकी प्रदेशबाट आठ करोड १८ लाख, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख र सुदूरपश्चिम प्रदेशबाट दुई करोड ४२ लाख सङ्कलन भएको जनाइएको छ ।
प्रहरीका अनुसार सो अवधिमा सबै भन्दा बढी कारवाहीमा पर्नेमा मोटरसाइकल रहेका छन् । पछिल्लो छ महिनामा चार लाख ३२ हजार ९८ वटा मोटरसाइकल कारावाहीमा परेका थिए । मोटरसाइकलपछि बढी कारबाहीमा पर्नेमा कार, जिप र भ्यान रहेका छन् । छ महिनामा दुई लाख ६१ हजार छ सय ३६ वटा कार, जिप र भ्यान कारवाहीमा परेको प्रहरीको तथ्याँकमा उल्लेख छ ।
कारबाहीमा पर्ने ट्रक र ट्याङकरको संख्या एक लाख ७० हजार आठ सय ४२ रहेको छ । त्यसैगरी बस र मिनिबस गरी एक लाख नौ हजार तीन सय ७७ वटा कारबाहीमा परेका छन् । नेपाल प्रहरीले मोटरसाइकललाई गरिएको कारवाहीबाट ३१ करोड १७ लाख ३४ हजार राजश्व संकलन गरेको छ ।
त्यस्तै कार, जिप र भ्यानलाई गरेको कारवाहीबाट १८ करोड ९० लाख, र ट्रक, ट्याङकरलाई गरेको कारबाहीबाट १५ करोड १९ लाख राजश्व संकलन भएको छ । सो अवधिमा बस र मिनिबसलाई गरिएको बारवाहीबाट नौ करोड २० लाख र टेम्पो तथा अन्यबाट दुई करोड ५३ लाख राजस्व सङ्कलन भएको छ।
ट्राफिक पह्ररीले मामादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार र यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाही गर्दै आएको छ ।
पछिल्लो तथ्याँक हेर्दा ट्राफिक पह्ररीले गरेको दैनिक सरदर पाँच हजार आठ सय ५० जनालाई कारवाहीमा गर्दै आएको देखिन्छ । त्यसैगरी ट्राफिक कारवाहीबाट दैनिक सरदर ४४ लाख ५० हजार रुपैया राजश्व संकलन हुने गरेको माथिको तथ्याँकले जनाएको छ ।