काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीले शान्तिवाटिकाबाट धर्नामा बसेकालाई हटाएको छ । मंगलबार विहान शन्तिवाटिकामा विभिन्न माग राखेर धर्नामा बसेकाहरुलाई काठमाडौं महानगरपालिकाको प्रहरीले हटाएको हो ।
शान्तिवाटिकामा मिटरब्याज पीडित, आरती साहको परिवार लगायत धर्नामा बस्दै आएका थिए । अहिले शान्तिवाटिका छिर्ने गेटमा ताला लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षाको कारण देखाउँदै गत मंसिरदेखि माइतीघर मण्डलदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारी शान्तिवाटिका सरेका थिए ।

एक प्रदर्शनकारीका अनुसार नगर प्रहरीले शान्तिवाटिका पुगेर प्रदर्शनकारीलाई लछारपछार गरेको छ भने उनीहरुको सामाग्री समेत फालिदिएको छ । उनीहरुलाई हटाउने क्रममा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन गरिएको थियो ।
विभिन्न माग राख्ने समूहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।