काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा ‘रितपूर्ण’ नभएको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले फिर्ता गरिदिएको छ । शुक्रबार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन् ।
‘घरायसी’ कारण देखाउँदै उनले राजीनामा दिएको पत्र आइतबार प्रहरी प्रधान कार्यालयको मानवस्रोत विभागमा पुगेको थियो । सोमबार प्रहरी महानिरीक्षक आईजीपी वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईलगायतले उनीसँग छलफल गरेर राजीनामा नदिन सुझाएका थिए ।
लामो छलफलपछि मानवस्रोत विभागका प्रमुख राईले ‘राजीनामाको पत्र समेत रितपूर्वक नभएको’ बताएका थिए । त्यसपछि उनलाई महानिरीक्षक कुँवरले बरु केही दिन बिदा बस्न भनेको थिए । आईजीपी बसन्त कुँवरसँग छलफल गरेपछि चन्दले बिदा लिएका छन् । डीआईजी चन्दले पेस गरेको १० दिनको बिदा आईजीपी कुँवरले स्वीकृत गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिको सिफारिस प्रति डीआईजी चन्द असन्तुष्ट थिए । समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेलाई सचेत गराउन सिफारिस गरेको थियो ।