काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा मुछिएका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना भएको छ । आइतबार विशेष अदालतले सजाय निर्धारण गर्दै ३ वर्ष कैदको फैसला सुनाएको हो ।
अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको हो ।
इच्छाराजकी पत्नी सिर्जना शाक्य तामाङलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४ सय ८७ रुपैयाँ १० पैसा बिगो र १ वर्ष ६ महिना जेल सजाय तोकिएको छ ।
केशवराज श्रेष्ठलाई १ वर्ष ६ महिना कैद सजाय गरिएको छ भने २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला भएको छ ।
इच्छाराजका छोरीहरु प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाइसकेका छन् । १६ भदौ २०७९ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी पत्नी सिर्जना, दुई छोरी, र केशवराज श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।