काठमाडौं । देशभरका यातायात कार्यालयको सेवा ठप्प भएको छ । यातायात व्यवस्था विभागको सर्भरबाट प्रवाह भइरहेका सेवामा बुधबार समस्या आएपछि काठमाडौंस्थित विभागको अनलाइन सिस्टमबाट देशभरका यातायात व्यवस्था कार्यालयमा प्रवाह हुने सेवा रोकिएको हो ।
यातायात व्यवस्था विभागमा जडित सुबिसुको नेटवर्कमा समस्या आउँदा सेवा अवरुद्ध भएको विभागले जनाएको छ । सर्भर र सिस्टम सबै ठीक भएको तर देशभरका कार्यालयमा फैलिएको सुबिसुको नेटवर्कमा समस्या आउँदा सेवा रोकिएको विभागले जनाएको छ ।
सुबिसुले दुई तीन घण्टामा समस्या समाधान हुने बताएको छ । सवारीचालक अनुमतिपत्र लिनका लागि फारम बुझाउन र बायोमेट्रिक गराउन ११ बजेदेखि लाइन बसेका सेवाग्राही काम नभएपछि फर्किएका छन् । सर्भरको समस्या समाधान नभएको भन्दै ठूलो संख्यामा सेवा लिन लाइन बसेका सेवाग्राहीलाई फिर्ता पठाइएको छ ।