काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन)साहले महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई स्पष्टीकरण सोधेका छन् । नगर शिक्षा समितिको निर्णय नभए पनि मध्यबानेश्वरस्थित रत्नराज्य स्कूललाई विज्ञान संकायतर्फ कक्षा ११ सञ्चालन गर्न अनुमति दिएको पाइएपछि बालेनले स्पष्टीकरण सोधेका हुन् । सँगै बालेनले ७ दिन बिदामा बस्न निर्देशनसमेत दिएका छन् ।
महानगर प्रमुख बालेनका स्वकीय सचिव भूपदेव साहका अनुसार गत शुक्रवार स्पष्टीकरण सोधिएको हो । कुनै पनि स्कूललाई कक्षा थप गर्न अनुमति दिनका लागि नगर शिक्षा समितिले निर्णय गर्नुपर्छ साहले भने,नगर प्रमुखको अध्यक्षतामा बस्ने नगर समितिको बैठकबाट निर्णय भएपछि मात्र शिक्षा शाखाले त्यसको अनुमति प्रदान गर्ने हो । तर, नगर शिक्षा समितिको बैठक नै नबसी शिक्षा अधिकारी कोइरालाले गत साउनमा उक्त स्कूललाई पत्र काटेको भेटिएपछि सफाइ पेस गर्न ७ दिनको म्याद दिएर शुक्रवार स्पष्टीकरण सोधिएको हो ।
कोइरालाले काठमाडौंको मध्यबानेश्वरस्थिन रत्नराज्य क्याम्पसलाई नगर शिक्षा समितिको निर्णयको हवाला दिँदै विज्ञान संकाय चलाउन ११ र १२ को अनुमति दिएका थिए । त्यहाँ अहिले प्लस टुमा विद्यार्थी भर्ना गरेर धमाधम पढाइँदै आइएको छ । २२ जना विद्यार्थी भर्ना पनि भइसकेका थिए ।