भक्तपुर । सरकार, संघीय संसद र शैक्षिक जगतमा माध्यमिक शिक्षा परीक्षा(एसइई)ले निरन्तरता पाउने नपाउने बारे बहस भैरहँदा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले परीक्षा प्रणालीमा सुधार बारे छलफल थालेको छ ।
बुधबार बोर्डको सभाकक्षमा आयोजित बिषयगत शिक्षकसँगको अन्तरकृया कार्यक्रममा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले सकेसम्म परम्परागत समय तालिका भन्दा छिटो परीक्षा संचालन र नतिजा प्रकाशन गर्न तथा परीक्षा प्रणालीमा सुधार गर्न बोर्ड लागि परेको बताउनुभयो ।
परीक्षा प्रणालीमा गरिने सुधारले शिक्षण सिकाईमा सुधार ल्याउने बताउँदै अध्यक्ष शर्माले बिगतका कमीकमजोरी सुधारेर परीक्षा प्रणालीमा रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा प्रश्नपत्र निर्माण बारे बिषयगत छलफल गरिने उहाँले बताउनुभयो । एसईई परीक्षाको भबिष्यबारे संसदमा छलफल भैरहेको र यसले निर्णय गर्ने भए पनि लोकसेवा परीक्षा,८ देखि १२ मा चार बर्ष परीक्षा अन्तर हुन नदिन र अन्तरराष्ट्रिय अभ्यास हेर्दा यो परीक्षाले निरन्तता पाउनुपर्ने बताउनुभयो ।
बोर्डका सदस्य सचिब दुर्गा प्रसाद अर्यालले परीक्षामा सुधार गर्न सकिए बिद्यार्थीको पठनपाठनमा पनि सुधार हुने बताउनुभयो ।सदस्य सचिब अर्यालले सरोकारवालाले अर्ति उपदेश दिनेभन्दा समस्या समाधानको उपाय बताउनुपर्ने भन्दै प्रश्न पत्र तयार पार्दा बिविध कोणलाई दृष्टिगत गरी उपयुक्त प्रश्नपत्र तैयार गर्नुपर्ने बताउनुभयो ।प्रश्नपत्र तयार पार्दा सामुदायिक र नीजि बिद्यालयका मात्र होईन मेचीदेखि महाकालीका बिद्यार्थीलाई मध्यनजर गरी परीक्षार्थीलाई न्याय गर्नुपर्ने बताउनुभयो ।
सदस्य सचिब अर्यालले संसदमा प्रस्ताबित शिक्षा बिधेयकमा एसईई परीक्षा कायम नभए पनि सांसदहरुको अभिमत भने यसको निरन्तरतामा भएकाले र परीक्षा नभए बिद्यार्थीले नपढ्ने भएकाले परीक्षा नलिनु नेपाली माटो र बानी सुहाउँदो नहुने बिचार ब्यक्त गर्नुभयो । बोर्डका सदस्य प्रा.डा.प्रकाशमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै शिक्षाको गुणस्तर परीक्षाले सुधार्ने भएकाले बोर्डले सुधारका लागि सरोकारवाला सबैलाई दिशानिर्देश गर्नुपर्ने बताउनुभयो ।प्रश्नपत्र तयार गर्दा र उत्तरपुस्तिका परिक्षण गर्दा नम्बर दिने योजना बनाउनुपर्नेमा जोड दिनुपर्ने उहाँको भनाई थियो ।
नमुना प्रश्न अनुसार ,भाषागत त्रुटी नहुनेगरी,प्रश्न बनाउने र बिषय बिज्ञ(शिक्षक)ले समन्वय गरी बिद्यार्थीको उमेर ,समय,प्रविधि र ,आलोचनात्मक चेत तथा मनोबृत्तिलाई ध्यान दिएर परीक्षाको गुणस्तरीयकरण हुने गरी प्रश्नपत्र निर्माण गनुपर्ने सुझाब श्रेष्ठले दिनुभयो । कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका डा.श्यामप्रसाद आचार्यले उचित प्रश्नले मात्र उचित जवाफ प्राप्त हुने बताउदै गलत प्रश्न निर्माणले सहि जवाफ प्राप्त नहुने उल्लेख गर्नुभयो ।
अहिले परीक्षा नियन्त्रण कार्यालय कक्षा १० एसईईको प्रश्नपत्र निर्माणको क्रममा रहेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा प्रणालीप्रति प्रश्न उठेको भन्दै परीक्षाले गुणस्तर कायम गर्दै जानुपर्ने र शिक्षण सिकाईमा प्रभावकारी रुपमा सुधार आउनुपर्ने बताउनुभयो । एसईई परीक्षा संचालन नभए कक्षा १२ को नतिजा हालको अबस्थामा थप १० प्रतिशतले खस्कने दाबी गर्नुभयो ।
कार्यक्रममा बिभिन्न बिद्यालयका बिषय बिज्ञ शिक्षकले परीक्षा प्रणालीमा सुधारका लागि सुझाव दिनुभएको थियो । यतिबेला यस बर्ष एसईई निरन्तर सञ्चालन हुन्छ वा खारेज हुन्छ भन्नेबारे अन्योल छ । सरकारले एसईई परीक्षाबारे यकिन निर्णय लिन नसक्दा एसइई तयारीमा रहेका करिब ४ लाख विद्यार्थी, अभिभावक र शिक्षक चिन्तित छन् । यस विषयमा सांसदहरूले पनि प्रश्न उठाएका छन् ।मंगलवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदले एसइईबारे के गर्ने सोच छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
सांसदको प्रश्नको जवाफमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले विद्यालय शिक्षा विधेयक संसदमा विचाराधीन रहेकोले त्यो विधेयक पास भएपछि मात्रै यसबारे थप केही निर्णय होला तर अहिलेलाई पहिलाजस्तै एसइई परीक्षा हुन्छ भन्नुभयो । विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० पास भएमा यस विषयमा टुंगो लाग्नेछ ।अहिले प्रस्तावित शिक्षा विधेयकमा एसइई परीक्षा खारेजीको प्रस्ताव गरिएको छ ।
सरकार माघभित्र हिउँदे अधिवेशन बोलाएर सबै ऐन पारित गर्ने योजनामा जुटेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि छिटो नै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पुसदेखि चैतसम्म संसदको हिउँदे अधिवेशनको समय मानिन्छ । यता राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष चैत पहिलो साता एसइई परीक्षा हुने भनी कार्यतालिका यस अघि नै सार्वजनिक गरिसकेको छ ।
यसबिचमा ऐन पारित भएमा शिक्षा विधेयकमै खारेजीको प्रस्ताव गरिएकाले संशोधन नपरे एसइई परीक्षा खारेज हुने देखिन्छ ।लामो समयदेखि अड्किएको शिक्षा विधेयक गत असोज २५ गते संसदबाट पारित भइ दफावार छलफलका लागि शिक्षा समितिमा पेस भएको थियो ।राष्ट्रिय परीक्षा बोर्डले भने ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ ।