काठमाडौं । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ् सेवा शुरु हुने भएको छ । काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङ् उपलब्ध गराउने क्रममा यो सेवा दिन लागेको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेका अनुसार, यस अघि काठमाडौँ टावर साबिक पुरानो बसपार्कमा निःशुल्क पार्किङ् सेवा उपलब्ध गराइएकोमा धराहरासंगै निःशुल्क पार्किङ् उपलव्ध भएपछि सकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध भएपछि न्युरोड लगायतका षेत्रमा कामका लागि जानुपर्नेलाई सवारी पार्किङ् गर्न सुविधा पुुग्नेछ ।
पाण्डेकाअनुसारसो भवनमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा, यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना भएको काठमाडौं महानगरले जनाएको छ ।