काठमाडौं । चन्द्रागिरि नगरभित्र फुटपाथमा व्यापार व्यवसाय गर्न नपाइने भएको छ । नगरपालिकाले मंगलबार सूचना जारी गर्दै सडक पेटीमा व्यापार गर्नबाट रोक लगाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ/ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनेको छ ।
फुटपाथमा गरिने व्यवसाय र अनधिकृत पार्किङले सर्वसाधारण नागरिकलाई सडकमा आवतजावत गर्न असुविधा भएको, सडक दुर्घटनाको जोखिम बढ्नुका साथै सहरी सौन्दर्यतामा समेत असर परेको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
नगरपालिकाले सूचनाको अवज्ञा गरेमा नगर प्रहरी परिचालन गरी कारबाही गर्ने जनाएको छ । चन्द्रागिरिले ४ माघदेखि २४ जना नगर प्रहरी परिचालन गरेको छ । नगर प्रहरीले सहरी व्यवस्थापन लगायतको काम गर्न सुरु गरेको नगरपालिकाको भनाइ छ ।