काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको हो ।
महानगरले यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ । महानगरले न्युरोड क्षेत्रमा पार्किङ निशेध गरसंगै ती स्थानमा पार्किङ गर्ने सवारी साधनलाई काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने जनाएको छ ।
महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले न्युरोडको विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने बताए । पाण्डेका अनुसार,आजैदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाइएको छ। पार्किङ निषेध गरेसंगै सो क्षेत्रको सवारी आवागमनमा सहज हुने अपेक्षा गरिएको छ ।