काठमाडौं । नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको थोरै स्थानहरू र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलि कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरू तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।